- Loading...
काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी पुनः ल्याउने तयारी सुरु
- गोल्डेन खबर
- २ साल अघि
- १२६ पटक पढिएको
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाका विभिन्न संरचनामा रहेका गेग्र्यान हटाएर पुरिएका संरचना निकाल्न थालिएको छ ।
आयोजनामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो प्रालिले गएको वर्षामा पुरिएका संरचना खुलाउन लागेको हो ।
वर्षामा बाढी र पहिराका कारण पुरिएर रहेका संरचना खुलाएर मर्मत गरेर पुनः काठमाडौँ उपत्यकामा खानेपानी ल्याउन तयारीको काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
गत शुक्रबारदेखि कम्पनीले दुई चरणमा काम भइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । केही दिनमा नै तीन सिफ्टमा हुने र सकेसम्म चाँडो सक्ने गरी तीन ठाउँमा काम गरिने उनले बताए । उनले भने, ‘तीन /तीनवटा डोजर राखेर काम भइरहेको जानकारी आएको छ ।’
संरचनामा रहेको लेदो सफा गरेर पहिले अम्बाथान अडिट खोलिने सूचना अधिकारी पन्तले बताए । त्यो खोल्नासाथ सुरुङको ‘डिवाटरिङ’ गर्न सकिन्छ । सुरुङ खाली भएपछि त्यसको निरीक्षण गर्ने र भित्र केही साधारण सुधार गर्नुपर्ने भए गर्न सकिने उनले बताए । त्यसपछि हेडवर्क र डाइभर्सन टनेल सफा गर्न सकिन्छ । उनले भने, ‘यी काम सँगसँगै गर्नुपर्ने भएकाले तीन ठाउँबाट काम गर्नुपर्छ ।’
अम्बाथान अडिटको लम्बाइ २९८ मिटर रहेको छ । मेलम्ची खोलाको भित्रतिर रहेको छ भने खोलाको धेरै गिट्टी-बालुवाभित्र नपसेको होला भन्ने आयोजनाको अनुमान छ ।
अडिटभित्र झन्डै पाँच हजार ४०० घनमिटर लेदो थुप्रिएको हुनसक्ने अनुमान गरिएको छ । उनका अनुसार त्यो परिमाण लेदो खाँदिएको अवस्थामा हुनसक्छ भने खाँदिएको नभएमा त्यो परिमाण कम हुनसक्ने अनुमान छ ।
मुख्य सुरुङमा भने भित्र लेदो नपसेकाले सञ्चालनमा समस्या नभएको आयोजनाले जनाएको छ । यसको मर्मत र सुधारका लागि धेरै समय नलाग्ने अनुमान छ ।
सुरुङको मुख खोल्नासाथ केही दिनमा नै सफा गरिहाल्न सकिने उनले बताए । मुख्य सुरुङलाई अडिट सुरुङले जोड्ने गर्छ । अहिले अडिट सुरुङ नै सुरुमा नै पुरै नभरिएको हुनसक्ने अनुमान गरिएको छ । सो सुरुङभित्र गएको छ/छैन भनेर मुख खोलेर हेरेर नै थाहा हुने उनले बताए ।
बाढीपहिराले थुपारेको लेदोका कारण सबैभन्दा बढी ‘हेडवर्क’ पुरिएको हुनसक्ने र संरचनामा नै असर गरेको हुनसक्ने अनुमान गरिएको छ । यहाँ झन्डै तीन चार लाख घनमिटर लेदो रहेको, त्यो हटाउनु नै सबैभन्दा महत्त्वपूणर् काम भएको सूचना अधिकारी पन्तले बताए । अहिले त्यो पुरै हटाउनेभन्दा पनि पानीसम्म जान सक्ने बनाउन लागिएको छ ।
अहिले नदी बगिरहेकाले त्यसैलाई सहयोग हुने गरी दायाँबायाँबाट गिट्टी बालुवा झिकेर हटाइने सूचना अधिकारी पन्तले बताए । अहिले हेडवर्कमा रहेका सबै लेदो हटाउनेभन्दा पनि पानीसम्म बगाउने गरी सफा गरिनेछ । हेडवर्कको गेट नं ९, गेट नं १ र अम्बाथान अडिट नजिकै गरी तीन ठाउँमा अहिले काम गर्नुपर्नेछ । नौ नं गेट र एक नं गेटमा समस्या भए पनि अस्थायी रुपमा चलाउन सकिन्छ भन्नेछ ।
चैतसम्ममा पानी चलाउन सकिएमा जेठसम्म चल्यो भने सुरुङमा केही भएको छैन भन्ने बुझिने सूचना अधिकारी पन्तले बताए । ‘हेडवर्क’ मा क्षति कम भएमा मर्मत हुनेछ भने धेरै क्षति भएको पाइएमा पुनः डिजाइन गरेर नयाँ ठाउँमा बन्न सक्छ ।
मुख्य सुरुङमा पहिले पानी भर्दा २६० लिटर प्रतिसेकेन्डका दरले भरिएको थियो र अहिले पनि त्यही प्रक्रिया अपनाइने आयोजनाले जनाएको छ ।अहिले पनि सुन्दरीजल, सिन्धु र ग्यालथुमबाट पानी निकालिरहेको छ । अम्बाथान र ग्यालथुम बीचको खण्डमा पानी भरिएको र त्यो खण्डमा अम्बाथान अडिट टालिएकाले निकाल्न नसकिएको सूचना अधिकारी पन्तले बताए ।
त्यो खण्डमा पानी रहेको छ भने अम्बाथान अडिट दुई हप्ताभित्र खोल्न सकेमा पानीबाहिर निकाल्न सकिन्छ । त्यसपछि सुरुङ निरीक्षण गरिने उनले बताए । माघभरमा सुरुङ खोल्न सकेमा फागुनमा निरीक्षण हुने उनले बताए । तीन खण्डमा निरीक्षण गर्दा एक हप्तामा सकिने गरी योजना बनाइएको छ । उनले भने, ‘निरीक्षणका लागि तीन टोली खटाउन सकिन्छ ।’
फागुन पहिलो साता निरीक्षण सकियो र सुरुङभित्र कुनै समस्या छैन भन्ने भएमा फागुन अन्तिमसम्ममा पानी ल्याउन अरू काम गर्न सकिने सूचना अधिकारी पन्तले बताए । अब गर्नुपर्ने काममा ‘कफर ड्याम’ बनाउने, हेडवर्क गेट नं ९ खोल्नेलगायतका छन् । उनका अनुसार चैतको एक दुई साता काम गर्नुपरे पनि अन्तिमसम्ममा ल्याउन सकिन्छ ।
काठमाडौँ उपत्यकावासीको धारामा चैतभित्रमा आउन सक्ने गरी योजना बनाइएको आयोजनाले बताउँदै आएको छ । अहिले गर्नुपर्ने तीन ठाउँमा सफा गर्न कति समय लाग्छ पानी पथान्तरण गर्ने कुरा त्यसमा निर्भर रहन्छ ।
उनका अनुसार ती संरचनामा कति क्षति पुगेको छ भनी खोलेर हेरेपछि मात्रै थाहा हुन्छ । उनले भने, ‘कम्पनीले काम सुरु गरिसकेकाले अबको दुई तीन दिनमा भित्रको अवस्था के छ भनी थाहा हुन्छ ।’