- Loading...
कांग्रेस लोकतान्त्रिक हुन सकेनः वरिष्ठ नेता पौडेल
- गोल्डेन खबर
- ३ साल अघि
- १०७ पटक पढिएको
दाङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि पार्टीनै पहिला लोकतान्त्रिक हुन आवश्यक रहेको बताउनु भएको छ।
नेतृत्वका कारण कांग्रेस पार्टी आफैँमा लोकतान्त्रिक हुन नसकेको गुनासो गर्दै देशमा राजनीतिक अन्योल देखिएजस्तै कांग्रेसभित्र पनि उस्तै खालको अन्योल सिर्जना भएको उहाँको भनाइ छ।
पार्टीका केन्द्रीय सदस्य दिपक गिरीका पिता स्व लोकमणि गिरीको १३औँ दिनको पुण्यतिथिमा दाङको तुल्सीपुरमा आयोजित श्रद्धाञ्जलिसभामा नेता पौडेलले देश अहिले अप्ठ्यारो परिस्थितिमा रहेको बेला प्रमुख प्रतिपक्ष दलको हैसियतले कांग्रेसले ठोस कदम चाल्नुपर्ने बेला पार्टी नै अलमलमा परेको प्रष्ट्याउनु भयो।
वरिष्ठ नेता पौडेलले सत्ताभन्दा व्यवस्था महत्वपूर्ण रहेको बताउँदै यसको रक्षाका लागि कांग्रेसले सही निर्णय गर्नुपर्ने बेला आएको धारणा व्यक्त गर्नु भयो। देश अहिले अन्यौलमा फसेको र अब के हुन्छ भन्ने अन्यौललाई चिर्ने जिम्मेवारी कांग्रेसले लिनुपर्ने उहाँको भनाइ छ। उहाँले आफूले सधैँ नीतिगत कुरा गर्दै आएको र विगतमा पनि सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमको खुलेर विरोध गरेको समेत बताउनुभयो ।