FLASH NEWS
  • Loading...

किवी खेतीतर्फ किसानको आकर्षण

  • गोल्डेन खबर
  • ४ साल अघि
  • १३५ पटक पढिएको
किवी खेतीतर्फ किसानको आकर्षण

पछिल्लो समयमा डडेल्धुराका कृषकहरु व्यावसायिक किवी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । केही वर्षअघि तरकारी उत्पादन हुने खेतमा आजभोलि भने कृषकहरु किवी खेती गरेर मनग्य आम्दानी गर्न थालेका हुन् । किवी खेतीका लागि डडेल्धुरामा उपयुक्त वातावरण भएकाले कृषकहरु व्यावसायिकरूपमा किवी खेतीतर्फ आकर्षित हुन थालेका हुन् ।

डडेल्धुराको अमरगढी–२ का हिक्मत खडायतले नौ रोपनीभन्दा बढी जमिनमा किवी खेती गरिरहनुभएको छ । किविभन्दा अघि उहाँले सुन्तला, जुनार, कागतीजस्ता फलफूलको खेती गर्नुभयो । डडेल्धुरामा किवी खेतीको राम्रो सम्भावना देखेर यो व्यवसायमा लागेको उहाँले बताउनुभयो । करीब पाँच हजार बोट किवी लगाउनुभएका उहाँले प्रतिबोट रु ५०० का दरले बिक्री गर्ने गरेको बताउनुभयो । “बजारमा किवीको मूल्य र माग दुवै रहेको छ । किवी रोपेर नै पाँच जनाको परिवार पालिरहेको छु”, उहाँले भन्नुभयोे, “बेर्ना हुर्कन कम्तीमा पनि एक÷डेढ वर्ष लाग्छ । रोपेको करिब तीन वर्षदेखि ५०÷६० वर्षसम्म किवीले आम्दानी दिने गरेको सुनेको छु ।” किवी खेतीबाटै घर खर्च कटाई वर्षिक रु एक÷दुई लाख बचत गर्ने गरेको उहाँले सुनाउनुभयो ।

किवी खेती गर्दा समयको पनि बचत हुने र आम्दानी पनि मनग्य हुने भएपछि आफू पनि यस पेसातर्फ आकर्षित भएको अमरगढी–१ का गणेशबहादुर ऐरले बताउनुभयो । शुरुमा रु पाँच लाख लगानी गरेर किवी खेती गर्नुभएका उहाँले छोराछोरीको पढाइ खर्चदेखि लिएर घर परिवारको जीविकोपार्जन पनि यसै पेसाबाट चलाइरहेको बताउनुभयो । सात वर्षदेखि उहाँले किवी खेती गरिरहनुभएको छ ।

किवी खेती गर्नुभन्दा पहिले भारतमा गएर काम गर्ने गरेको उहाँको भनाइ छ । “किवी खेती गर्ने कुनै सोच थिएन । जिल्ला कृषि विकास कार्यालयले दोलखाबाट यो योजना लिएर जिल्लामा तालिम दियो । १०÷१२ जना हामी सहभागी थियौँ तर किवी खेती गर्न कसैले मानेन,” उहाँले भन्नुभयोे, “जिल्लामा पहिलो पटक मैले यो खेतीको शुरुआत गरेँ । शुरुमा १०० बोट लगाएँ । अहिले त जिल्लामा ३०÷४० किसान पुगिसके किवी खेती गर्ने ।” गत वर्ष १६ क्विन्टल किवी फले पनि यो वर्ष ३० क्विन्टल फलाउने उहाँको अनुमान छ । किवी लगाएकै ठाउँमा तरकारी पनि लगाउन सकिने भएकोले मनग्य आम्दानी गरिरहेको उहाँले बताउनुभयो ।

शुरुमा एक पटक लगानी गरेपछि ४०÷५० वर्षसम्म उत्पादन दिइरहने र बजारको समेत अभाव नहुने भएपछि किसान किवी खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताउनुभयो । किवीखेतीका लागि मौसमअनुसार पनि डडेल्धरा जिल्ला उपयुक्त मानिने हुदाँ त्यसतर्फ बढी आकर्षित भई यो खेतीको थालनी भएको वरिष्ठ कृषि विकास अधिकृत विष्टले बताउनुभयो ।
रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित