FLASH NEWS
  • Loading...

बिरामीलाई काठमाडौं महानगरको नि:शुल्क एम्बुलेन्स सेवा

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ९२ पटक पढिएको
बिरामीलाई काठमाडौं महानगरको नि:शुल्क एम्बुलेन्स सेवा

काठमाडौं महानगरपालिकाले लकडाउनको अवधिभर हृदयघात, मिर्गौला रोगीलगायतका बिरामीलाई अस्पतालसम्म लैजान र ल्याउन निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ।

काठमाडौं महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति)सँग सोमबार सम्झौता गर्दै निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने जानकारी दिएको हो।  काठमाडौं महानगरपालिकाकातर्फबाट प्रशासन विभाग प्रमुख नमराज ढकाल र संयुक्त एम्बुलेन्स चालक संघका तर्फबाट अध्यक्ष गोवद्र्धन सापकोटाले संयुक्तरुपमा हस्ताक्षर गरेको सम्झौता अनुसार अब लकडाउन अवधिभर पाँच वटा एम्बुलेन्सले २४सैँ घण्टा सेवा दिनेछन्। त्यसका लागि एम्बुलेन्स सेवालाई काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग गर्नेछ।

लकडाउनका समयमा हृदयघात, मिर्गौला रोगीलगायतका महानगरबासीहरुलाई आकस्मिक सेवाका लागि आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान–ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराउन लागेको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ।

‘लकडाउनको अवधिमा महानगरमा बसोवास गर्ने सम्भावित बिरामीलाई सार्वजनिक यातायातका सवारीसाधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन यो सम्झौतापछि निःशुल्क एम्बुलेन्स सेवा प्रवाह हुनेछ,’ मेयर विद्यासुन्दर शाक्यले भने, ‘सम्भावित विरामीलाई निःशुल्क एम्बुलेन्स सेवा लिन सम्पर्कका लागि काठमाडौं महानगरपालिकाले हटलाइन नम्वर ११८० को व्यवस्था गरेको छ।’

सम्झौता अनुसार निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने सवारी साधनमा करार अवधिभर अन्य प्रयोजनमा एम्बुलेन्स चलाउन पाउने छैन। त्यसैगरी निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेका बिरामीहरुको नाम थर र अन्य विवरणको लगत अद्यावधि गरी प्रमाणित गर्नु पर्नेछ।

सञ्चालनमा आएका एम्बुलेन्सले महानगरको भौगोलिक क्षेत्र सीमा बाहिर दुई किलोमिटरसम्म निःशुल्क सेवा दिनुपर्नेछ। तर, त्योभन्दा बढीको दूरीमा यात्रा गर्नुपर्दा सम्बन्धित बिरामीले सरकारको नियमानुसार दूरीको आधारमा भाडा दर तिर्नुपर्नेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित