- Loading...
आज सार्क राष्ट्रहरूको भिडियो कन्फ्रेन्स
- गोल्डेन खबर
- ४ साल अघि
- १०९ पटक पढिएको
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले विश्वव्यापी संकटको रुप लिइरहेका बेला सार्क राष्ट्रहरूको भिडियो कन्फेन्स आज साँझ सवा ५ मा हुने भएको छ।
कोरोना भाइरसको जोखिम न्यूनीकरणमा सार्क राष्ट्रहरू एकजुट भएको सन्देश दिन भिडियो कन्फ्रेन्स आयोजना गर्न लागिएको हो।
सार्क नेताहरूबीच कोरोना भाइरस (कोभिड–१९) विरुद्ध मिलेर अगाडि बढ्ने विषयमा सहमति जुटेपछि भिडियो कन्फरेन्स गर्न लागिएको हो। कन्फरेन्सको औपचारिक थालनी दिल्लीबाट हुनेछ।
सार्क राष्ट्रका नेताहरूले ‘भिडियो कन्फरेन्स’ मार्फत सहकार्य अघि बढाउने भएका छन्। पाँच वर्षदेखि सार्क अवरुद्ध छ। २०७१ सालमा १८औं शिखर सम्मेलनपछि शिखर सम्मेलन हुन सकेको छैन। आज (आइतबार) हुने भिडियो कन्फरेन्सलाई सार्क ब्युँताउने रणनीतिका रूपमा लिइएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली सहयोग संगठन (सार्क) सम्झिएका हुन्। मोदीले शुक्रबार ट्विट गर्दै कोरोना भाइरसविरुद्ध लड्न सार्क देशका नेताहरुले एक बलियो रणनीति बनाउनु पर्ने प्रस्ताव गरेका थिए। उनले यसबारे भिडियो कन्फ्रेन्समार्फत् कुरा गर्न सकिने बताएका थिए।
‘सार्क देशका नेतृत्वले कोरोना भाइरसविरुद्ध एक बलियो रणनीति बनाउने प्रस्ताव म गर्न चाहन्छु,’ मोदीले भनेका छन्, ‘हामी हाम्रा नागरिक स्वस्थ राख्न भिडियो कन्फ्रेन्समार्फत् छलफल गर्न सक्छौं। हामी एकसाथ दुनियाँका लागि एक उदारण बन्न सक्छौं र स्वस्थ ग्रह निर्माणमा योगदान गर्न सक्छौं।’
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले यसको स्वागत गरेका थिए। ट्वीटमार्फत् मोदीलाई जवाफ फर्काउँदै ओलीले कोरोना भाइरसविरुद्ध लड्न सार्क सदस्य राष्ट्रहरुसँग मिलेर काम गर्न तयार रहेको बताएका थिए। नेपाल सार्कको अध्यक्ष राष्ट्र हो।
‘कोरोना भाइरसविरुद्ध लड्न सार्क देशका नेतृत्वले एउटा बलियो रणनीति बनाउनुपर्छ भन्ने प्रधानमन्त्री मोदीजीको उन्नत विचारको म स्वागत गर्छु,’ ओलीले भनेका थिए, ‘मेरो सरकार हाम्रा नागरिकलाई यो घातक रोगबाट बचाउनका लागि सार्क सदस्य देशहरुसँग मिलेर काम गर्न तयार छ।’ प्रधानमन्त्री ओली सिंहदरबार पुगेर भिडियो कन्फरेन्समा सहभागी हुने जानकारी दिए।
मोदीको प्रस्तावलाई सार्क क्षेत्रका अन्य देशका राष्ट्र तथा सरकार प्रमुखले पनि स्वागत गरेका थिए।
सन् १९८५ डिसेम्बर ८ मा स्थापना भएको सार्कमा नेपाल, पाकिस्तान, बङ्गलादेश, भारत, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तान छन्।