FLASH NEWS
  • Loading...

कुवेतले दुई हप्ताका लागि उडान बन्द गर्‍यो, श्रमिकलाई पनि बिदा

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ११२ पटक पढिएको
कुवेतले दुई हप्ताका लागि उडान बन्द गर्‍यो, श्रमिकलाई पनि बिदा

कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन कुवेतले दुई हप्ता सार्वजनिक बिदा दिएको छ ।बिहीबारदेखि आउँदो चैत १२ गतेसम्मका लागि कुवेतले सार्वजनिक क्षेत्रमा कार्यरत श्रमिकलाई बिदा दिएको हो ।

कुवेतबाट उड्ने र कुवेत जाने सबै व्यवसायिक उडानहरु शुक्रबार मध्यरातदेखि बन्द हुने कुवेतले जनाएको छ । तर कार्गो जहाज भने उड्नेछन् । कुवेतमा रेस्टुरेन्ट र क्याफेसहित मलहरुमा पनि भेला हुन नपाइने कुवेतको मन्त्रीपरिषदले निर्णय गरेको छ । जिम, खेलकुदका क्लबहरु लगायतका सार्वजनिक ठाउँ पनि बन्द हुनेछन् । बैंकहरु पनि २६ मार्चसम्म बन्द हुनेछन्, तर अनलाइन कारोबार भने गर्न सकिने उल्लेख छ ।

यस्तै, फेब्रुअरी २७ भन्दा पछि कुवेत गएका नेपालीसहित सबै विदशी नागरिकले अनिवार्य स्वास्थ्य परीक्षण गराउनुपर्ने कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य परीक्षणका लागि कुवेतले नै केन्द्रको व्यवस्थापन गरेकाले आफ्नो नागरिकता अथवा पासपोर्टका साथमा जँचाउन आग्रह गरेको छ ।

कुवेत सरकारले घरभित्रै पनि धेरै मानिस भेला भएर नबस्न सुझाव दिएको छ । यो समयमा कुवेतमा रहेका थुप्रै नेपालीहरुले छुट्टी पाउने भए पनि उडान बन्द भएकाले स्वदेश फर्किने अवस्था भने छैन ।

कुवेत जान चाहने नयाँका लागि भने कुवेतले केही समय अघिदेखि नै भिसा दिन छाडिसकेको छ । कुवेतमा अहिलेसम्ममा ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसमध्ये तीन जना निको भएका छन् । कुवेतमा रहेका नेपालीमा भने कोरोनाको संक्रमण अहिलेसम्म देखिएको पुष्टि भएको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित