FLASH NEWS
  • Loading...

प्रधानमन्त्री केपी ओलीले सरकारले गरेका राम्रा कामको प्रचार नगरिएको भन्दै असन्तुष्टि जनाए

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ९२ पटक पढिएको
प्रधानमन्त्री केपी ओलीले सरकारले गरेका राम्रा कामको प्रचार नगरिएको भन्दै असन्तुष्टि  जनाए

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले सरकारले गरेका राम्रा कामको प्रचार नगरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

शनिबार प्रेस संगठनका केन्द्रीय सदस्यहरुको सपथग्रहणका लागि बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टीभित्रै पनि सरकारले गरेका राम्रा काम नदेख्ने प्रवृत्ति रहेको भन्दै आक्रोश पोखे । सरकारको कामको मूल्याङ्कन भिडले गर्ने र भिडले नै छानबिन र फैसला गरिरहेको उनको भनाइ थियो । ‘भिडले मूल्याङ्कन गर्ने र भिडले नै छानबिन र फैसला गर्ने काम भइरहेको छ’, ओलीले भने, ‘नेकपाका सबै नेता कार्यकर्ताले बुझ्नुपर्छ यसमा स्वार्थ जोडिएको छ ।’

ओलीले एमाले र माओवादी केन्द्रको एकता देखावटी नभएको दाबी गरे । दुई पार्टी मिलेर बनेको नेकपालाई उनले कल्पवृक्षसँग तुलना गरे । ‘यो एकता एउटा वृक्ष हो । स्थापना कालमा पार्टी एउटै थियो । बीचमा हांगाबिंगा आयो’, ओलीले भने, ‘नेकपा भवितव्यले बनेको ढुंगा होइन, ७० वर्ष खियाएर बनेको ढुंगा हो । कसैले प्वाल पार्न खोजेर सक्दैन ।’

ओलीले नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलप्रति पनि कटाक्ष गरे । राजपासँग राष्ट्रियसभा निर्वाचनका लागि गरिएको सहमतिको विरोध नगर्न उनले चेतावनी दिए । रावलले स्थायी समिति बैठककै उक्त सहमतिप्रति आपत्ति जनाउँदै कविता लेखेका थिए । राजपालाई राष्ट्रिय सभामा एक सिट दिएर नेकपाले दुई सिट लिने निर्णय कसरी गलत भयो भन्दै उनले प्रतिप्रश्न गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित