- Loading...
उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा
- गोल्डेन खबर
- ६ साल अघि
- ११६ पटक पढिएको
बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उन आज चीनको राजधानी बेइजिङ पुगेका छन् । उनको यो भ्रमणबारे यसअघि केही खुलाइएको थिएन । चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको यो भेटलाई किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने गइरहेको अपेक्षित दोस्रो शिखर सम्मेलनको तयारीको रुपमा लिइएको छ । किम चिनियाँ राष्ट्रपति सी जिनपिङको चार दिनको निमन्त्रणामा त्यसतर्फ लागेका छन् । उत्तर कोरियाली नेता किम रेलमार्ग हुँदै चीन पुगेका हुन् । स्थानीय समाचार समयानुसार आज बिहान १०ः५५ मा नेता किम चीन जानको लागि रेल चढेको दक्षिण कोरियाको समाचार समिति योनहापले जानकारी दिएको छ ।
किमका साथमा श्रीमती री सोल जु सहित अरु उत्तर कोरियाली उच्चस्तरीय प्रमण्डल रहेको उत्तर कोरियाली समाचार समिति केसीएनएले जनाएको छ । किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच ऐतिहासिक दोस्रो शिखर वार्ता हुने समाचार सार्वजनिक भएको अवस्थामा नै किम चीन भ्रमणमा निस्केका छन् । यसलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति ट्रम्पसँग दोस्रो शिखर सम्मेलनको पूर्व तयारीका लागि भन्ने समाचार पनि सम्प्रेषण गरेका छन् ।
गत वर्षको जुन महिनामा उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो । संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको बैठकका लागि ठाउँ खोज्दै गरिएको जानकारी अमेरिकाले दिएको थियो । अर्को बैठक गर्ने बारेमा सहमति भइसकेको छ तर पनि यस बैठकको स्थान र मिति भने तय भएको छैन ।