FLASH NEWS
  • Loading...

गुर्जा हिमाल आरोहण गर्न गएका ९ जनाको मृत्यु

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९६ पटक पढिएको
गुर्जा हिमाल आरोहण गर्न गएका ९ जनाको मृत्यु

काठमाडौं । म्याग्दीको धौलागिरी गाउँपालिका–१, स्थित गुर्जा हिमालको आधार शिविरमा बेपत्ता भएका पर्यटकहरुमध्ये ८ जनाको शव भेटिएको छ ।गुर्जा हिमाल आरोहण गर्न गएको ५ जना कोरियाली र ४ जना नेपालीमध्ये ८ जनाको शव देखिएको घटनास्थल पुगेर फर्किएका स्थानीयबासीले बताएका छन ।

उनले दिएको जानकारी अनुसार क्षतविक्षत अवस्थामा शवहरु रहेका छन् भने हिमआँधीका कारण यत्रतत्र टेन्ट समेत छरिएको छ । ७ हजार १९३ मिटर अग्लो गुर्जा हिमाल आरोहणका लागि गएको पर्यटकको टोली हिमआँधी र हुरीमा परेको थियो । हिमआँधीका कारण दुर्घटना भएको बताइएको छ । शुक्रबार बिहान उद्धारका लागि सिम्रिक एअरको हेलिकप्टर घटनास्थल पुगेपनि अवतरण हुन नसकेपछि फर्किएको छ ।

गुर्जाखानी गाउँबाट ५ घण्टाको दूरीमा गूर्जा हिमालको बेसक्याम्प पर्दछ । कोरियाली नागरिक किम चङ होको नेतृत्वमा गुर्जा हिमाल आरोहणका लागि प्रस्थान गरेको टोली बेसक्याम्पमा बास बसेको थियो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले गुर्जा हिमाल आरोहण गर्न गएको ५ जना कोरियाली र ४ जना नेपालीको टोली हिम आँधीहुरीमा परेको बताए ।

दक्षिण कोरियाली ‘किम चाङ हो’ को नेतृत्वमा गएको टोलीमा कोरियाली नागरिक यु योङ्जीक, रिम इल जिन र लि जाई हुन तथा नेपाली नागरिकमा वाङचु शेर्पा, तेन्जिङ भोटे र लाक्पा साङ्बु भोटे रहेका छन् । अन्य दुई जना भने गाउँकै नागरिक हुन सक्ने बताइएको छ ।उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टर घटनास्थल पुगे पनि अवतरण हुन नसकेको बताउँदै उनले घटनास्थल पुगेको टोलीले आफूलाई हेलिकप्टरबाट हेर्दा शवजस्तो देखिएको जानकारी गराएको बताए ।

हिमआँधी र हावाहुरीमा परेर बेपत्ता भएका पर्यटकको उद्धारको कार्य जारी राखिएको प्रजिअ अधिकारीको भनाई छ । घटनाको बारेमा जानकारी आएलगत्तै शनिबार बिहानै ताकम प्रहरीचौकीबाट घटनास्थलतर्फ प्रहरीको टोली पठाइएको म्याग्दीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए । उनले दिएको जानकारी अनुसार पर्यटकलाई लिएर गएको गाइडले पनि उद्धार गर्न समेत समस्या रहेको बताएका छन् । अप्ठ्यारो ठाउँ र सञ्चारले पनि काम गर्न नसक्ने ठाउँमा दुर्घटना भएको हुँदा शव सङ्कलनमा समस्या रहेको जनाइएको छ ।

हिमाल आसपासका क्षेत्रमा रहेका वनजङ्गलका रुख समेत हावाहुरीका कारण भाच्चिँएको अवस्थामा भेटिएकाले अत्याधिक हावाहुरीका साथै हिमआँधीले गर्दा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । यसै साता मात्रै गुर्जा हिमाललगायत अन्य हिमाल आरोहणको लागि दुई टोली आधार शिविरतर्फ प्रस्थान गरेका थिए ।

गोल्डेनखबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित