- Loading...
हिमपातसँगै पश्चिमी भेगको जनजीवन प्रभावित कहाँ कहाँ परे हिउँ
- गोल्डेन खबर
- ६ साल अघि
- १०३ पटक पढिएको
वैतडी ः गए रातिदेखि मौसममा आएको परिवर्तनका कारण बैतडी सहित प्रदेश नं ७ का अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ ।
हिमपातसँगै चिसोले जनजीवन प्रभावित भएको छ । जिल्लाको खोडपे, सतबाँझ, सुर्नया लगायतका क्षेत्रमा हिमपात भएको छ ।
यस्तै, दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, व्यासलगायत ठाउँमा हिमपात भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा सबै स्थानमा हिमपात भएको छ । चिसोबाट बच्नका लागि व्यासको छाङरु र तिंकरका बासिन्दा दुई महिना अघि नै सदरमुकाम खलङ्गा झरिसकेका एक स्थानीयवासीले बताएकाछन् ।
डडेल्धुरा सदमुकामलगायत भीमदत्त राजमार्गको साहुखर्क, गैरा, हगुल्टेलगायत स्थानमा हिमपात भएको स्थानीयवासी आषिश मल्लले जानकारी दिनुभयो । बझाङको जयपृथ्वी नगरपालिका पणेश क्षेत्र, धामीलेक, पीठालेक, दौलीचौर, सुर्मा, काँडालगायत क्षेत्रमा पनि हिमपात शुरु भएको छ । सो क्षेत्रमा मंगलबार रातिदेखि पानी पर्न थालेको हो । उच्च पहाडी भेगमा हिमपात जारी छ । यस्तै अछामको उच्च हिमाली क्षेत्रमा पनि हिमपात भएको बताइएको छ ।
मुस्ताङमा हिमपात
हिमाली जिल्ला मुस्ताङमा आज बिहानैदेखि हिमपात भएको छ । हिउँ पर्ने क्रम जारी रहेको जोमसोमबाट नवराज सुवेदीले जनाएका छन् । लामो समयको खडेरीपछि भएको हिमपातले कृषक उत्साहित भएका छन् ।
सुवेदीका अनुसार हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । सर्वसाधारण घर बाहिर निस्कन सकेका छैनन् । हिमपातसँगै हुरी बतास पनी चलेको छ ।एक फिट बाक्लो हिउँ जमेको छ । हिमपातपछि पोखरा जोमसोम हवाई उडान अवरुद्ध छ । बेनी जोमसोम सडकको मुस्ताङ खण्डमा सवारीसाधन चलेका छैनन्।
मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको स्थानीयवासीले बताएका छन् । हिउँ परेपछि स्याउ खेती फस्टाउने, जौ, गहुँ, उवा, फापर बालीमा सिँचाइ हुने भएकाले कृषक खुशी भएका हुन् । यस्तै, म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा र घोडेपानीमा समेत हिउँ परेको छ ।
बाजुरामा पनि हिमपात
मंगलबार दिउँसोदेखि मौसम परिवर्तनसँगै रातिदेखि जिल्लामा पानी परेको छ । गहुँ बाली, तरकारी सुकेर जाने अवस्था पुगेकाले पानी परेपछि किसान हर्षित भएका छन् । पानी परेसँगै जिल्लाको उत्तरी भेगमा हिउँ परेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले जानकारी वताएका छन्।
बाजुराको बडिमालिका नगरपालिका, बूढीनन्दा नगरपालिका, हिमाली गाउँपालिकामा र त्रिवेणी नगरपालिकाको उच्च भेगमा हिमपात भएको छ ।
जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक मीनप्रसाद जैशीले पानी परेपछि केही मात्रामा गहुँ उत्पादन बढ्ने आशा व्यक्त गरेकाछन् । जैसीका अनुसार “लामो समयको खडेरीका कारण गहुँ बाली सुकेर गएकाले खेतमा छरेको बीउको शेषसमेत जोगाउन किसानलाई मुस्किल भएको थियो,” ।
हिमाली गाउँपालिकाको १, २ र ३ वडा बिच्छ्यामा सबैभन्दा बढी हिमपात भएको छ । त्यहाँका स्थानीयवासीलाई घरभन्दा बाहिर आवजजावत गर्न समस्या भएको स्थानीय धर्मराज सुनारले बताए । । यसैगरी गौमुल गाउँपालिकाको दहकोट, मानाकोटलगायत क्षेत्रमा हिमपात भएको छ । हिमपातपछि सो क्षेत्रका विद्यालय बन्द भएका छन् ।