बुबाको किरिया बसेका विप्लवका जिल्ला इञ्चार्ज जोशी पक्राउ
- गोल्डेन खबर
- ७ साल अघि
- ११५ पटक पढिएको
![Biplab1 बुबाको किरिया बसेका विप्लवका जिल्ला इञ्चार्ज जोशी पक्राउ](https://www.goldenkhabar.com/wp-content/uploads/2017/11/Biplab1.jpg)
बैतडी, ५ मंसिर । बुबाको किरियामा बसेका नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका जिल्ला इञ्चार्ज वासुदेव जोशीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । जोशीलाई प्रहरीले उनकै घर डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वरबाट पक्राउ गरेको हो ।
विभिन्न जिल्लामा विप्लव समूहले उच्छृङ्खल गतिविधि गरेर नागरिकलाई त्रास सिर्जना गर्नुका साथै चुनाव भाँडने काम गरेकाले जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।
बुबाको निधनमा किरिया बस्नुभएका जोशीलाई ११औँ दिनमा प्रहरीले माथिको आदेश भन्दै नियन्त्रणमा लिएपछि परिवारले आपत्ति जनाएका छन् ।
कुनै नराम्रो गतिविधिमा संलग्न नरहेका जोशीलाई घरबाटै पक्राउ गरेको उनका भाइ अनिरुद्र जोशीले जानकारी दिए । तर प्रहरीले भने किरिया सकिसकेको र शंकास्पद व्यक्ति भएकाले पक्राउ गरेको जनाएको छ ।
प्रहरीले यसअघि पनि बैतडीमा विप्लव समूहका छजना नेता कार्यकर्तालाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको थियो ।