FLASH NEWS
  • Loading...

अन्तर्राष्ट्रिय म्याराथन दौड प्रतियोगिता आजदेखि दोलखाको जिरीबाट सुरु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १५१ पटक पढिएको
अन्तर्राष्ट्रिय म्याराथन दौड प्रतियोगिता आजदेखि दोलखाको जिरीबाट सुरु

चरिकोट, २३ कात्तिक । यो वर्षको एभरेष्ट ट्रायल रेस अन्तर्राष्ट्रिय म्याराथन दौड प्रतियोगिता आजदेखि दोलखाको जिरीबाट सुरु भएको छ । जिरी नगरपालिकाका प्रमुख टंक जिरेल र नेपाल पर्यटन विभागका अधिकृत नारायण भट्टराईले संयुक्तरुपमा सो प्रतियोगिताको उद्घाटन गरे ।

सातौँ एभरेष्ट ट्रायल रेस म्याराथन दौड प्रतियोगितामा नेपालसहित १३ राष्ट्रका ४१ जना धावकको सहभागिता रहेको छ । तीमध्ये नौजना महिला र ३२ जना पुरुष छन् ।

प्रतियोगितामा सबैभन्दा बढी स्पेनका १४ जना धावक सहभागी छन् भने बेलायतका नौ, इटालीका चार तथा नेपाल, पोर्चुगल र आयरल्याण्डका दुई÷दुई जना धावक सहभागी छन् ।यसैगरी मेक्सिको, कोलम्विया, फ्रान्स, अमेरिका, क्यानडा, स्वीडेन, नर्वे र अर्जेन्टिनाका एक÷एकजना धावक पनि प्रतियोगितामा सहभागी भएका छन् ।

नेपालको तर्फबाट सोलुखुम्वुको महाकुलुङ गाउँपालिका–५ का सुमन कुलुङ र खुम्वु पासङल्होमु गाउँपालिका–९ का छेची शेर्पा सहभागी छन् । शेर्पा छ महिनाअघि कञ्चनजंघादेखि चीनको सिमाना हिल्सासम्मको एक हजार आठसय किलोमिटर दुरी ४५ दिनमा पुरा गरेका थिए । प्रतियोगितामा स्पेनका विश्व बिख्यात धावक लुइस अलबेट्रो पनि सहभागी छन् ।

धावकहरूले प्रथम सगरमाथाआरोही एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको पदमार्ग भएर एभरेष्ट म्याराथन दौड पुरा गर्नेछन् । जिरीबाट सुरु भएको प्रतियोगिता रामेछापको बाम्ती भण्डार, सोलखुम्बुको गोली, पिकेडाँडा, नाम्चे, पाङ्बोचे हुँदै फोर्चेसम्म पुगी पुनः लुक्लाको त्याङ्बोचे आएर यही कात्तिक २९ गते सकिनेछ ।

प्रथम सगरमाथा आरोही हिलारी र शेर्पाको पदमार्गलाई अन्तर्राष्ट्रिय रुपमा चिनाई राख्न र यसलाई जिवित राख्न बर्सेनि दौड प्रतियोगिताको आयोजना गर्ने गरिएको आयोजक अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिसनका प्रवन्ध निर्देशक कामी शेर्पाले बताए ।

प्रतियोगितामा प्रथम हुनेले रु एक लाख ५० हजार, द्वितीय हुनेले रु एक लाख र तृतीय हुनेले रु ५० हजारसहित मेडल र ट्रफी पाउनेछन् ।प्रतियोगिता सन् २०११ देखि सुरु भएको हो । प्रतियोगितामा सहभागी हुने धावकहरूको संख्या बर्सेनि वृद्धि हुँदै गएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित