FLASH NEWS
  • Loading...

मनाङमा स्की खेलको प्रशिक्षण

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ११० पटक पढिएको
मनाङमा स्की खेलको प्रशिक्षण

काठमाडौँ- भदौ । अन्नपूर्ण पदयात्रा मार्गको प्रमुख पर्यटकीय गन्तव्य मनाङको उच्च हिमाली क्षेत्रमा स्की खेल सञ्चालन गरिने भएको छ ।

 स्की एण्ड स्नोबोर्डिङ फाउन्डेशनले उक्त क्षेत्रमा साहसिक खेलका रुपमा परिचित स्की खेलको प्रशिक्षण दिने भएको हो । करिब पाँच हजार मिटर उचाइको खाग्ला ग्लेसियर क्षेत्रमा इजरायल, अमेरिका, जर्मनी, इटाली र अष्ट्रियाका सात प्रशिक्षकले प्रशिक्षण दिने छन् । यही भदौ २९ गतेदेखि छ दिनसम्म हिमपहिरो उद्धार र स्की पर्वतारोहणसम्बन्धी तालीम दिने फाउण्डेशनका अध्यक्ष उत्सव पाठकले राससलाई बताउनुभयो । तालीममा सहभागी टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको छ । तालीममा स्की खेल खेल्ने तरिका, सीप र उद्धार कौशलबारे सिकाइनेछ । हिउँमा चिप्लेटी खेल्न आवश्यक पर्ने सामग्री, उपकरण र प्रशिक्षण निःशुल्क दिइनेछ । एक मलेसियाका विद्यार्थीसहित आठ नेपाली तालीममा सहभागी हुनेछन् । विदेशी पर्यटकको उत्कृष्ट पदयात्रा क्षेत्रका रुपमा ख्याति कमाएको सो क्षेत्रमा हिउँ पर्ने मौसममा थप पर्यटकीय क्रियाकलाप बढाउन र नेपालमा स्कीसम्बन्धी गतिविधिमा स्वदेशी तथा विदेशीको सहभागिता बढाएर पर्यटन प्रवद्र्धनमा सघाउने उद्देश्यले तालीम गर्न लागिएको फाउण्डेशनका कोषाध्यक्ष सुरज काफ्लेले बताउनुभयो । नेपालमा प्रशस्त मात्रामा रहेका हिमाल, चुली तथा उच्च हिमाली क्षेत्रमा पर्वतारोहण, पदयात्राजस्ता साहसिक पर्यटकीय गतिविधि बढिरहेको सन्दर्भमा स्की खेलको विकास र विस्तार गरी पर्यटकको बसाइँ लम्ब्याउन यस प्रकारका गतिविधि फाउण्डेशनले सञ्चालन गर्दै आएको कोषाध्यक्ष काफ्लेले बताउनुभयो । स्की एन्ड स्नोबोर्डिङ फाउण्डेसनले यसअघि गौरीशंकर संरक्षण क्षेत्रको ना भन्ने ठाउँमा ३५, मेरा पिकमा पाँच र दोलखाको कालिञ्चोकमा २० र अन्नपूर्ण हिमालको आधारशिविरमा ५० जनालाई स्की खेलसम्बन्धी प्रशिक्षण दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित