- Loading...
अमेरिकामाथि हमला गर्ने उत्तर कोरियाको तयारी
- गोल्डेन खबर
- ७ साल अघि
- ९४ पटक पढिएको
काठमाडौँ, साउन । उत्तर कोरिया र अमेरिकाबीच तनाव चुलिइरहेकै वेला उत्तर कोरियाले प्रशान्त क्षेत्रको अमेरिकी भूभाग गुआमनजिक चारवटा क्षेप्यास्त्र प्रहार गर्ने योजना बताएको छ ।
गुआममा अगस्टको यसै साता चारवटा क्षेप्यास्त्रमार्फत हमला गर्ने तयारी गरेको उत्तर कोरियाको समाचार संस्था केसिएनएले बिहीबार जनाएको छ । ट्रम्पले उत्तर कोरियालाई ध्वस्त पारिदिने चेतावनी दिएको भोलिपल्ट प्योङयाङले अमेरिका आक्रमणको मिति नै तोकेको हो । बुधबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्योङयाङले कहिल्यै नदेखेको आक्रमणको सामना गर्नुपर्ने चेतावनी दिएका थिए । ट्रम्पको अभिव्यक्ति वाहियात भएको उत्तर कोरियाले टिप्प्णी गरेको छ । ‘ट्रम्पसँग वार्ताको सम्भावना छैन र अमेरिकालाई सैन्य बलले मात्र ठेगान लगाउन सकिन्छ,’ उत्तर कोरियाले भनेको छ । उत्तर कोरियाको चेतावनी सांकेतिक भएको र उसले गर्ने सम्भावित हमला कोरियाली शासकका लागि नै आत्मघाती हुने केही विश्लेषकले टिप्पणी गरेका छन् ।
यस्तो छ उत्तर कोरियाको योजना
उत्तर कोरियाको सेनाले मध्य अगस्टसम्म अमेरिका आक्रमणको योजनालाई अन्तिम रूप दिई स्वीकृतिका लागि सर्वोच्च नेता किम जोङ उनसमक्ष पठाउने उत्तर कोरियाली सरकारी समाचार संस्था केसिएनएले जनाएको छ । केसिएनएले आर्मी प्रमुख किम राम ग्योमलाई उद्धृत गर्दै लेखेको छ, ‘अगस्टको मध्यतिर कोरियाली सेना ‘केपिए’ले प्रहार गर्ने ह्वासोङ–१२ रकेटहरू जापानको सिमाने, हिरोसिमा र कोइची क्षेत्रको आकाश काटेर गुआमनजिकैको समुद्रमा झर्नेछन् ।’ उत्तर कोरियाले प्रशान्त क्षेत्रको अमेरिकी भूभाग गुआमनजिक यसै साता चारवटा क्षेप्यास्त्रमार्फत हमला गर्ने तयारी गरेको त्यहाँको समाचार संस्था केसिएनएले जनाएको छ । ट्रम्पले उत्तर कोरियालाई ध्वस्त पारिदिने चेतावनी दिएको भोलिपल्ट प्योङयाङले अमेरिका माथि आक्रमणको मिति नै तोकेको हो ।
ती क्षेप्यास्त्र तीन हजार तीन सय ५६ किलोमिटरमाथि सम्म उडेर एक हजार ६५ सेकेन्डपछि गुआमबाट ४० किलोमिटरको दूरीमा रहेको समुद्रमा खस्नेछन् । मझौला र लामो दूरीका ती क्षेप्यास्त्र कोरियामा नै निर्माण गरिएका हुन् ।
यस टापुमा रहेका दुईवटा अखडामा पाँच हजार अमेरिकी सेना छन् । फलामको हुकको टुप्पोसमेत भनिने गुआम प्रशान्त महासागरबाट अगाडि बढ्न पनि रणनीतिक महत्वको क्षेत्र मानिन्छ । द्वितीय विश्वयुद्धपछि गुआमको महत्व घटेको थियो । तर, अमेरिकाले जापान र दक्षिण कोरियामा सैन्य आधार गठन गरेसँगै प्रशान्त क्षेत्रमा गुआमले अझै पनि रणनीतिक महत्व राख्छ । गुआमबाट अमेरिकाले एसियामा प्रभाव बढाउन खोजेको उत्तर कोरियाको बुझाइ छ । प्योङयाङको घोषणाले यस क्षेत्रमा उत्तेजना निम्त्याएको र अन्तर्राष्ट्रिय समुदायको सुरक्षालाई चुनौती दिएको जापान सरकारका प्रवक्ता योसिहिडा सुगाले बताए । ‘हामी उत्तरको धम्की सहन सक्दैनौँ,’ प्रवक्ता सुगाले भने । गुआमका लागि उत्तरले प्रहार गरेको क्षेप्यास्त्रलाई जाापनले वैधानिक रूपमा नै नियन्त्रणमा लिने जापानका रक्षामन्त्री इटसुनोरी ओनोडेराले बताए । जापानले अमेरिका र उसको गठबन्धनलाई सहयोग गर्ने विधेयक हालै पारित गरेको छ । यसअघि आफ्नो क्षेत्रमा प्रहार भएका मिसाइललाई खसालिदिने अनुमति जापानी सरकारले सेनालाई दिएको थियो । उत्तरले क्षेप्यास्त्र प्रहार गरे तत्कालै कारबाही गर्ने दक्षिण कोरियाले चेतावनी दिएको छ । ‘हाम्रा सेनाले दिएको गम्भीर चेतावनीको हेक्का नराखी उत्तर कोरियाले उत्तेजना फैलाएमा अमेरिका र दक्षिण कोरियाको संयुक्त सेनाले उसलाई उचित जवाफ फर्काउनेछ,’ संयुक्त सेना प्रवक्ताले भने । चीनले कोरियाली प्रायद्वीपको समस्या जटिल मोडमा पुगेको भन्दै संयम अपनाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उत्तर कोरियाले अमेरिकालाई चुनौती दिन नसक्ने भन्दै अमेरिकी नागरिकलाई ढुक्क हुन आग्रह गरेका छन् । गुआममा बिहीबार बोल्दै टिलरसनले रसिया र चीनसहितको विश्वव्यापी ‘दबाब अभियान’ले प्योङयाङसँग ‘छुट्टै भविष्यबारे’ वार्ता हुने बताए । पछिल्ला केही दिनमै नाटकीय रूपमा घटनाक्रम विकसित नभएको भन्दै उनले अमेरिकीलाई रातमा शान्तसँग निदाउनसमेत आग्रह गरेका छन् । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले प्योङयाङलाई आणविक कार्यक्रम बन्द गर्न चेतावनी दिएका छन् । अमेरिका र उसको गठबन्धन सेनाले प्योङयाङलाई सजिलै पराजित गर्ने रक्षामन्त्री म्याटिसले बताए । बुधबार मात्र ट्रम्पले अमेरिकी आणविक तागतको घमन्ड गर्दै उत्तरले यसअघि नदेखेको समस्या सामना गर्नुपर्ने चेतावनी दिएका थिए ।