FLASH NEWS
  • Loading...

‘एक हप्तामै मतपरिणाम सार्वजनिक हुन्छ’

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८७ पटक पढिएको
Post Thumbnail


काठमाडौं– प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले एक हप्ताभित्रै पहिलो चरणको निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भइसक्ने बताएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रमुख आयुक्त यादवले एक हप्ताभित्रै सबै मतपरिणाम आईसक्ने दाबी गरेका हुन् । यादवले भने, ‘मतगणना भइरहेको छ, तर ढिलाई भएको चाहीँ हो, यसको प्रमुख कारण भनेको नै मतपत्र ठूलो भएर हो, अब हामी मतगणना डेस्क बढाउँछौं ।’ उनका अनुसार काठमाडौं, ललितपुर, पोखरा, भरतपुर महानगरमा मतगणना डेक्स थपिनेछन् । काठमामाडौंमा मतगणना डेस्क ११ सम्म पु¥याउने उनले जानकारी दिए । यादवले पहिलो चरणको निर्वाचन सम्पन्न भएकै साँझदेखि मतगणना कार्य सुरु भएको उल्लेख गर्दै मुख्य निर्वाचन अधिकृतको अधिकारलाई आयोगले हस्तक्षेप गर्न नमिल्ने पनि बताए । उनले थपे, ‘कानूनी जटिलताहरु पनि छन्, आयोगले हस्तक्षेप गर्न मिल्दैन, आयोगले माग भएबमोजिम जनशक्ति उपलब्ध र सहयोग गर्न सक्छ, र हामी तयार छौँ ।’
उनले थने, ‘अहिले केही ढिलाई भएका छन्, तर समय लाग्दा कोही पनि आत्तिनुहुदैन २० वर्ष निर्वाचन नहुदा चुप लागेर बस्नेहरु अहिले किन एक हप्ता धैर्य गर्न नसकेका होलान् ? मलाई त आश्चर्य लागेको छ ।’ यादवले मतपरिणाम सार्वजनिक गर्नकोलागि विद्युतीय डिस्प्ले पनि राखिने तयारी भएको बताए । उनले ०५४ सालको स्थानीय तहको निर्वाचनमा पनि मतपरिणाम आउन ६ दिन लागेको दलिल पेश गर्दै भने, ‘०५४ सालमा भएको स्थानीय तहको निर्वाचनको सम्पूर्ण मतपरिणाम आउनको लागि ६ दिन लागेको थियो, तर अहिले त मतपत्रपनि ठूलो छ, मतदाताहरुको संख्यापनि धेरै छ, समय त लागिहाल्छ नि ।’
त्यस्तै यादवले जेठ ३१ गते दोस्रो चरणको निर्वाचनमा पनि यही मतपत्र प्रयोग हुने भएकोले अहिलेको अनुभव अनुसार आफूहरुले दोस्रो चरणको निर्वाचनको मतगणना गर्ने जानकारी दिए । यादवले पहिलो चरणको निर्वाचनमा ७४ प्रतिशत मत खसेको र मत बदरपनि बढेको उल्लेख गर्दै भने, ‘मत बदर पनि बढेको देखियो, मत बदर ७ प्रतिशतसम्म हुनसक्छ ।’ उनले दोस्रो चरणको निर्वाचनको काउन्टडाउन सुरु भैसकेकोले आयोगले सबै तयारी गरेको बताए । मुख्य अधिकृत कार्यालय पुगिसकेको, मतपत्रलगायतका सवै सामाग्रीहरु पठाईसकेका पनि उनले जानकारी दिएका छन् ।
कर्मचारीहरु कारवाहीमा
निर्वाचन आयोगले निर्वाचनका क्रममा आयोगले तोकेको जिम्मेवारी पुरा नगर्ने ७ जना कर्मचारीलाई कारबाही गर्ने भएको छ । आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले दिएको नियुक्ति पत्र समेत लिन नमानेको भन्दै ति कर्मचारीहरुलाई स्पष्टीकरण मागेको जनाएको छ । पन्ध्र दिनभित्र यस विषयमा सम्बन्धीत निकायलाई जानकारी दिन आयोगले भनेको छ ।
आयोगले स्पष्टीकरण लिएका कर्मचारीहरुमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका उपसचिव जिवनराम पुरी, महालेखा नियन्त्रण कार्यालयका उपसचिव काशीनाथ भट्टराई, राष्ट्रपतिको कार्यालयका उपसचिव प्रल्हाद प्रसाद पुडासैनी रहेका छन् ।
त्यस्तै संघीय मामीला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव खेमप्रसाद उपाध्याय, पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाका उपसचिव शिवराम भट्टराई, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद घिमिरे र नारायणहिटि दरबार संग्राहालयका रोहीतप्रसाद ढुंगानालाई पनि आयोगले स्पष्टीकरण मागेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित