- Loading...
बिस्केटको लिङ्गो ढालियो
- गोल्डेन खबर
- ७ साल अघि
- १३५ पटक पढिएको
भक्तपुर, २ वैशाख । बिस्केटजात्राको प्रमुख मानिने लिङ्गो ढालिएको छ ।
तान्त्रिक विधिअनुरूप पूजार्चना गरी लिङ्गो ढालिने जात्रा सम्पन्न भएको छ । बिस्केट जात्राको चौथो दिन भेलुखेलस्थित ल्यासिङ्खेलमा उठाइएको लिङ्गो ढालिएको हो । पचपन्न हात लामो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ढालिएको हो । लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुई ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ डोरीले तानेर लिङ्गो ठड्याइने प्रचलन छ । त्यही आठ डोरी आठ कुनामा राखेर लिङ्गो ढालिएको थियो ।
लिङ्गोको कोखामा झुन्ड्याइएका दुई ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाशभैरवका ध्वजासमेत भनिन्छ । बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनाका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले सो जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ ।
लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ ।
लिङ्गो ढालिएपछि ल्यासिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको छ । भैरव र भद्रकाली देवदेवीको समागम जात्रा भनेर चिनिने सो रथ जुधाउने कार्यलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ ।
जात्रामा रथ जुधाउनुअघि बेताल देवतालाई गःहिटीमा ल्याइएपछि झ्यालबाट कुखुरा दिई बलि चढाएर रथ जुधाउने परम्परा छ । भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा सम्पन्न भएपछि ती दुवै देवदेवीको पूजा गरिने भैरव नाइके मोतीबहादुर सुवालले जानकारी दिनुभयो ।