- Loading...
धौलागिरि पदमार्गको नक्सा तयार
- गोल्डेन खबर
- ७ साल अघि
- १०२ पटक पढिएको
हिमाली क्षेत्रमा पर्यटक भित्र्याउनका लागि म्याग्दी हुँदै रुकुम र डोल्पा जोड्ने गरी पहिचान गरिएको पश्चिम धौलागिरि’ पदमार्गको नक्सा तयार गरिएको छ ।
रुकुमका युवा पर्वतारोही मनबहादुर खत्रीको प्रयासमा हिमाली क्षेत्रलाई समेटेर विभिन्न रुट पहिचान गरिएको उक्त पदमार्गको हालै विभिन्न निकाय र सङ्घसंस्थाको आर्थिक सहयोगमा नक्सा तयार गरिएको हो ।
म्याग्दीमा हालै सञ्चालनमा आएको धौलागिरि सेन्चुरी पदमार्गअन्तर्गत कुइनेमङ्गलेबाट सुरु भई मल्कबाङ, मुदी, गुर्जा र रुकुमको सिस्ने तथा डोल्पा जोड्ने गरी तयार गरिएको हो ।
पदमार्गका अनुसन्धानकर्तासमेत रहनुभएका पर्वतारोही खत्रीले कालीगण्डकीदेखि पश्चिममा भेरी नदीसम्मको धौलागिरि रेञ्जमा रहेका हिमशृङ्खलालाई समेटेर विभिन्न पर्यटकीय पदमार्ग पहिचान गरिएको बताउनुभयो । उहाँका अनुसार, उक्त पदमार्गको नक्सा जिल्ला विकास समिति रुकुम, नेपाल पर्वतारोहण सङ्घ, म्याग्दीको धौलागिरि गाउँपालिकामा समावेश भएको साविकको गुर्जा गाविसको आर्थिक सहयोगमा हिमालय म्याप हाउसले तयार गरेको हो ।
खत्रीले तयार गरेको पदमार्गको नक्साङ्कनअनुसार पश्चिम धौलागिरि पदमार्गको केन्द्रबिन्दु म्याग्दीको गुर्जालाई मानिएको छ भने ट्रान्स धौलागिरि पदमार्गको सुरुवात विन्दु म्याग्दी सदरमुकाम बेनीलाई मानिएको गाउँ पर्यटन विकास समिति गुर्जाका संयोजक झकबहादुर छन्त्यालले बताउनुभयो ।
पदमार्गको नक्साङ्कनअनुसार तल्लो ट्रान्स धौलागिरि पदमार्गमा भ्रमणमा जाने पर्यटक मुस्ताङको लेतेबाट सुरु गरी फेदी–म्याग्दीको कुइनेमङ्गले हुँदै मुदीको खिबाङमा पुगेर माथिल्लो पश्चिम धौलागिरि पदमार्गमा जोडिन्छन् । यस पदमार्गमा हालै म्याग्दी उद्योग वाणिज्य सङ्घले सञ्चालनमा ल्याएको धौलागिरि सेन्चुरी पदमार्ग हुँदै भ्रमणमा पुगेका पर्यटकलाई समेत कुइनेमङ्गले हुँदै पश्चिम धौलागिरि पदमार्गको भ्रमणमा लैजान सकिने सम्भावना रहेको छ । धेरै पहिले म्याग्दीको गुर्जाका सर्वसाधारण रुकुम र डोल्पा आवतजावत गर्ने गरेको आधारमा त्यसै रुटमा थप अनुसन्धान र स्थलगत अवलोकन गरी उक्त पदमार्गको पहिचान गरिएको हो । चार वर्षको अध्ययन अनुसन्धानबाट पहिचान गरिएको यस पश्चिम धौलागिरि पदमार्गलाई मुख्यतः उचाइका आधारमा तीन चरणमा विभाजन गरिएको छ ।
माथिल्लो भेगलाई समावेश गरिएको टे«कले उच्च हिमाली क्षेत्र र हिमालका आधार शिविरहरुलाई छोइएको छ भने तल्लो भेगलाई समावेश गरिएको ट्रेकलाई पहाडि भूगोल र हिमालको दृश्यावलोकन गर्न सकिने गरी नक्साङ्कन गरिएको छ । पुथा र चुरेन हिमाललाई समेटिएको पदमार्गलाई माथिल्लो पश्चिम धौलागिरि नामाकरण गरिएको छ । यो पदमार्गको सुरुवात विन्दु म्याग्दीको गुर्जा पुगेर त्यहाँबाट चुरेन र पुथा हिमालको बेस क्याम्प पुगेर त्यहाँबाट इच्छाअनुसार डोल्पा, रुकुम र ढोरपाटन आरक्ष क्षेत्रमा पुगेर पदयात्रा अन्त्य गर्न सकिने पर्वतारोही खत्रीले बताउनुभयो ।
त्यसैगरी तल्लो धौलागिरि ट्रेकमा दरबाङ, मुना, लुलाङ हुँदै गुर्जा पुगेर एकराते, फलियाघर, रुकुमको वारमीपारमी, दोगाडी खोला, मैकोट अथवा सिस्ने बस्ती हँुदै स्यार्पू तालमा पुगेर यात्रा टुङ्गिने गरी नक्साङ्कन गरिएको छ । चौथो विकल्पका रुपमा पहिचान गरिएको ढोरपाटन कल्चरल ट्रेकअन्तर्गत गुर्जा हँुदै गुर्जाघाट, रुघाचौर, मैकोट, रन्मा, अर्जल हुँदै सिस्नेको चारगाउँ निस्कने गरी पदमार्गको पहिचान गरिएको छ ।
‘‘धेरै वर्ष पहिले गुर्जाका स्थानीय बासिन्दाले नुन लिनका लागि प्रयोग गरेको गुर्जा–डोल्पा पैदल मार्गलाई नै आधार बनाएर दुवैतर्फका हिमाली भूगोललाई समोश गरी पश्चिम धौलागिरि पदमार्ग पहिचान गरिएको हो” – खत्रीले भन्नुभयो ।
पदमार्गमा मनोरम हिमशृङ्खला, थरिथरिका जङ्गली फूल, जडीबुटी, चराचुरुङ्गी, हिमाली र जङ्गली जनावर, प्राकृतिक भू–बनोट प्रमुख आकर्षण रहेका छन् भने क्षेत्री, दलित, मगर र छन्त्याल समुदायको मौलिक कला संस्कृतिसमेत थप आकर्षण हुनेछन् ।
सडक सञ्जालले नछोएको र भविष्यमा समेत प्रत्यक्ष प्रभाव पार्न नसक्ने गरी पहिचान गरिएको पदमार्ग भएकाले प्राकृतिक सौन्दर्यतामा रमाउन खोज्ने पर्यटकका लागि यो पदमार्ग उत्तम मानिने छन्त्यालको दाबी छ ।
कालीगण्डकीदेखि पश्चिम भेगमा रहेका हिमाललाई एकीकृत रुपमा प्रचारप्रसार गर्ने लक्ष्यसहित एकीकृत रुपमै पदमार्गको पहिचान गरिएको उहाँले बताउनुभयो । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलका साथै उत्तरगङ्गा करिडोर बन्न सक्योे भने यस क्षेत्रको पर्यटन विकास हुने उहाँको विश्वास छ ।