- Loading...
बेनी बजार संरक्षण आयोजना सुरु
- गोल्डेन खबर
- ७ साल अघि
- १४७ पटक पढिएको
म्याग्दी सदरमुकाम बेनीबजार संरक्षणका लागि नदी नियन्त्रण आयोजना सुरु भएको छ ।
कालीगण्डकी र म्याग्दी नदीको कटान नियन्त्रण गरी बेनी बजारलाई सुरक्षित बनाउने उद्देश्यले रु एक करोड २० लाख लागतको आयोजना निर्माण सुरु भएको हो ।
कालीगण्डकी नदी किनारमा पक्की र म्याग्दी नदी किनारमा मेसिनरी पर्खाल लगाउने काम सुरु भएको जलउत्पन्न प्रकोप नियन्त्रण सवडिभिजन कार्यालय बागलुङले जनाएको छ ।
यसवर्ष कालीगण्डकी किनारमा ६२.५ मिटर पक्की पर्खाल निर्माण गर्न रु ७५ लाखमा सम्झौता गरेको विकास निर्माण सेवाले काम सुरु गरेको छ । ७.४० मिटर अग्लो पर्खाल बनाइने सवडिभिजन प्रमुख इञ्जिनियर खगेन्द्र भट्टचनले बताउनुभयो ।
म्याग्दी नदी किनारमा ७२ मिटर लम्बाइ र पाँच मिटर अग्लो मेसिनरी पर्खाल निर्माण गर्न रु ४६ लाख २० हजारमा पोखराको बिजी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको छ । आगामी असारअघि नै काम सम्पन्न गर्ने विकास निर्माण सेवाका सञ्चालक दिनेश केसीले बताउनुभयो ।
कालीगण्डकी किनारमा गतवर्ष रु एक करोड ८८ लाखको लागतमा १२४.५ मिटर र त्योभन्दा अघिल्लो वर्ष ६३ मिटर पक्की पर्खाल निर्माण भएको थियो । यसैगरी सिँचाइ मन्त्रालयले बेनी बजार संरक्षण कार्यक्रमको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गरेको छ ।
अर्थमन्त्रालयमा पेस गरिएको डिपिआर स्वीकृत भएपछि बहुवर्षे ठेक्कामार्फत काम अघि बढाइने इञ्जिनिर भट्टचनले बताउनुभयो । आर्थिक वर्ष २०७६÷७७ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाका लागि रु ५३ करोड बजेट प्रस्ताव गरिएको छ ।
बेनी बजार नदी कटानका हिसाबले देशमै जोखिमयुक्त सहर मानिन्छ । यसअघि नदी किनारमा तारजाली ग्याविन भरेर पर्खाल लगाउँदै आए पनि कटानको दिगो नियन्त्रणका लागि दुई वर्षअघि गुरुयोजना तयार गरी पक्की पर्खाल लगाउन थालिएको थियो ।
बेनी बजारस्थित कालीगण्डकी र म्याग्दी नदी किनारमा पक्की पर्खाल लगाउने गरी बहुवर्षे योजना सञ्चालन गरिएको छ । नदी किनारमा पर्खाल लगाएपछि त्यसमाथि फिलिङ गरेर चक्रपथ सञ्चालन गर्ने योजना बनाइएको छ ।