FLASH NEWS
  • Loading...

हिमाली जिल्लामा चुनावी सरगर्मी बढ्यो

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८१ पटक पढिएको
Post Thumbnail


सोलुखुम्बु, १६ फागुन । सदरमुकाममा व्यावसायिक खेती गरेर बसेका नेकपा (माओवादी केन्द्र)का निवर्तमान जिल्ला सचिव सागर किराती एक हप्तादेखि आफ्नै गाउँ बुङमा हुनुहुन्छ ।

स्थानीय निकायको चुनाव घोषणा भएलगत्तै गाउँ गएका किराती अहिले स्थानीय निकाय चुनावको अभियानमा व्यस्त हुनुहुन्छ । किरातीले टेलिफोनमा भन्नुभयो “यो पटक गाउँपालिकामा नेतृत्व गरेर करियर विकास गर्ने ठूलो अवसर आएको छ त्यसैले चुनावको अभियानमा व्यस्त छु” किराती जस्तै नेपाली काँग्रेसका जिल्ला सभापति विनोद बस्नेत पनि चुनावी अभियानका लागि गाउँमै हुनुहुन्छ, बस्नेत भन्नुहुन्छ “स्थानीय चुनावको तयारीकै लागि गाउँ केन्द्रित भएका छौँ, गाउँमा अत्यन्तै उत्साह छ, जता पनि चुनाव पछि गाउँको विकास हुन्छ, सुशासन प्रवद्र्धन हुन्छ भन्ने आशा आम नागरिकमा बढेको छ ।”

यता नेकपा (एमाले)ले चुनाव घोषणा भएपछि गाउँ अभियान सुरु गरेको छ । एमाले सोलुखुम्बुका जिल्ला अध्यक्ष मानवीर राई भन्नुहुन्छ, “स्थानीय निकाय चुनाव हुने कुराले खुसीको सीमा छैन, हामी गाउँ अभियानमा निस्किएका छौँ, जहाँ गए पनि चुनावकै चर्चा छ, जो पनि खुसी व्यक्त गर्छन् ।”

जिल्लास्थित दलहरु स्थानीय चुनावका लागि तयारीमा निस्किएका छन्, उनीहरु प्रायः गाउँ केन्द्रित भएका छन् । जिल्लालाई आठ वटा स्थानीय निकाय सिफारिस गरिएकाले दल त्यसैको आधारमा तयारीमा निस्किएका छन् ।

दलहरु तयारीमा निस्किएको मात्र हैन, आम नागरिक पनि चुनाव हुने कुराले उत्साहित बनेका छन् ।

अहिले जिल्लामा हरेक चिया पसलदेखि मेलापातमा समेत चुनावकै चर्चा हुन्छ, लोखिमका धनकुमार तामाङ भन्नुहुन्छ “चुनाव घोषणा भएपछि भूकम्पको पीडाको भन्दा बढी चर्चा चुनावको हुने गरेको छ, एकातिर नागरिकमा अब गाउँपालिकामै सदरमुकामको सेवा पाइन्छ भन्ने अपेक्षा बढेको छ भने अर्कोतिर आफ्नो नेता छान्न पाइन्छ भन्ने उत्साह पनि छ” ।

करिब १९ वर्षपछि हुन लागेको स्थानीय निकाय चुनावले अहिले हिमाली जिल्ला सोलुखुम्बुमा पनि उत्साह बढाएको छ, तोकिएको समयमा चुनाव हुन्छ र करिब दुई दशकपछि आफ्नो नेतृत्व आफैँ छान्न भन्ने कुराको चर्चा जताततै छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित