- Loading...
तोकिएको अवधिभित्रै तीनवटै निर्वाचन हुन्छ – उपप्रम महरा
- गोल्डेन खबर
- ७ साल अघि
- १४४ पटक पढिएको
धादिङ—उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आउँदो माघ ७ गतेभित्रै तीनवटै निर्वाचन सम्पन्न हुने कुरामा शंका नगर्न राजनीतिक दलहरूसँग आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ, धादिङ शाखाको संयोजनमा नेपाल पत्रकार महासंघ मध्यमाञ्चल क्षेत्रीय समितिले धादिङबेँसीमा आयोजना गरेको सम्मान कार्यक्रममा उपप्रधानमन्त्री महराले लोकतन्त्र प्राप्तिको आन्दोलनमा सञ्चारजगत्ले निर्वाह गरेको भूमिका भएको बताए । उनले अब संविधान कार्यान्वयनका लागि पनि सञ्चारजगतबाट त्यस्तै भूमिका निर्वाह हुने अपेक्षा राखेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरू हरिहर विरही, सुरेश आचार्य, तारानाथ दाहाल र धर्मेन्द्र झालाई अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता र महासंघको संस्थागत विकासका लागि पु¥याएको योगदानबापत सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो ।
त्यस्तै क्षेत्रीय समितिबाटै उत्कृष्ट शाखाका रूपमा नेपाल पत्रकार महासंघ सर्लाही शाखालाई र २० वर्षभन्दा माथि लामो समयसम्म पत्रकारिता गर्दै आएका सत्यप्रकाश श्रेष्ठ र कृष्णराज परियारलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङ शाखाबाट न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसी, नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्ट र आकुरावका केन्द्रीय अध्यक्षमा निर्वाचित हुन हुने धादिङ शाखामा आबद्ध रहेका पत्रकार सुभास खतिवडालाई पनि सम्मान गरियो ।
क्षेत्रीय समितिका संयोजक शीतलप्रसाद महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा सांसद गुरूप्रसाद बुर्लाकोटी सम्मानित हुने पत्रकारहरूको तर्फबाट वरिष्ठ पत्रकार हरिहर विरही, प्रजिअ उमेश ढकाल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसी, नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्ट, राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्ले र राजनीतिक दलका प्रमुखहरूले समसामयिक राजनीति र सञ्चार क्षेत्रको बारेमा चर्चा गरेका थिए ।