- Loading...
सम्मानले मात्र जिन्दगी चल्दैन
- गोल्डेन खबर
- ७ साल अघि
- १४३ पटक पढिएको
शत्रुघ्न नेपाल
यो बर्ष बृहत् शान्ति सम्झौता (२०६३ मंसिर ) भएको १० बर्ष पुगेको छ । बृहत् शान्ति सम्झौताको आफ्नै महत्व छ । जनताले सम्झौताको मूल्य, मान्यता अनुसार कार्यान्वयनको पनि अपेक्षा गरेको थिए । तर खासै कार्यान्वयन खासै चासो देखिएन । र जनताले देशको मुहार फेरिने कल्पना गरेअनुसार हुन सकेन । शान्ति सम्झौता भएको १० वर्ष वितिसके पनि मानबीय पीडा र दुख हट्न सकेनन् । तीनै १२ वर्षे द्वन्द्वकालका मानवीय पीडाका कथाहरू प्रकाशित गर्ने जमर्को गरेका छ । आउँदा दिनहरुमा भेटेसम्म यस्ता कथाहरू प्रकाशित गर्दै जाने नै छौं ।
द्वन्द्वका कथाहरू प्रकाशित गर्ने क्रममा आज हामीले प्रभातकिरण कोइरालाले संयोजन गरेको मिडिया फाउण्डेसनको प्रकाशन ‘नेपालको संक्रमणकालीन न्याय प्रक्रियाका कथाहरू’ को संगालो बुक घाउमा मलमबाट लिएका छौं । घाउमा मलम बुकमा समेटिएका कथा मध्ये यस पटक हामीले पत्रकार शत्रुध्न नेपालले लेखेको ‘सम्मानले मात्र जिन्दगी चल्दैन’ शीर्षकको राखेका छौं । यो दर्दनाक कथा वि.सं. २०६३ साल माघ १९ गते मधेश आन्दोलनमा प्रहरीको गोली लागेर बीरगञ्जमा मारिएका पर्सा जिल्लाको झौवा गुठी गाविसका दीपेन्द्र साहको हो । आगामी दिनमा पनि यसरी नै क्रमशः अरु कथाहरू पनि प्रकाशित गर्दै जाने नै छौँ ।
सम्मानले मात्र जिन्दगी चल्दैन
एक्कासी मानसिक आघात नपुगोस् भनेर पर्सा जिल्लाको झौवा गुठी गाविस, मधवल गाउँकी राजकुमारीदेवी साह तेलीलाई गाउँलेहरूले त्यो दुःखद समाचार सुनाएनन् । मधेश आन्दोलनको क्रममा २०६३ साल, माघ १९ गतेका दिन उनका एकमात्र छोरा दीपेन्द्र प्रहरीको गोली लागेर मरिसकेका थिए । वीरगञ्जका स्थानीय एफएम रेडियोहरूले समेत समाचार प्रसारणबाट उनको मृत्यु भएको पुष्टि गरिसकेका थिए । तर आन्दोलनमा भाग लिएर साँझ घर फर्केका गाउँलेहरूले राजकुमारी देवीलाई बताए, “दीपेन्द्रको खुट्टामा गोली लागेको छ, उनी घाइते मात्र भएका छन् । अस्पतालमा उनको उपचार भैरहेको छ ।”
‘के भएको हो, हामी हेरेर आउँछौं, भन्दै भोलिपल्ट ठूलो संख्यामा गाउँलेहरू वीरगञ्जतिर लागे । राजकुमारीदेवी र उनको परिवारले ‘हामी पनि अस्पताल जान्छौं, भनेर हिंड्न नखोजेका होइनन् । तर गाउँलेहरूले राजकुमारीदेवी, उनकी वृद्ध आमा र उनकी बुहारी सीतालाई घरमै थुनेर राखेछन् । अस्पतालमा पुगेर दीपेन्द्रको मृत्यु भैसकेको थाहा पाउँदा उनीहरूलाई असह्य होला भन्ने चिन्ता गाउँलेहरूले गरेका रहेछन् । त्यसमाथि तीन महिलाहरू र सीताको नाबालक छोरा ताराचन्द्र मात्र रहेको तेली परिवारप्रति गाउँलेहरूले सामाजिक संरक्षणको भावना देखाउनु स्वभाविकै थियो ।
प्रहरीको गोलीबाट दीपेन्द्र मारिएको जानकारी तेली परिवारलाई गाउँलेहरूले भोलिपल्टसम्म पनि दिएनन् । अस्पतालमा दीपेन्द्रको शवको पोष्टमार्टम भयो । त्यसपछि आन्दोलनकारीहरूले शवलाई बोकी नारा जुलुशसहित वीरगञ्ज शहर परिक्रमा गरे । परिक्रमापछि शवलार्ई घण्टाघरमा राखेर प्रदर्शन गर्ने आन्दोलनकारीहरूको योजना रहेछ । तर, त्यसलाई घण्टाघरसम्म परिक्रमाका लागि लगिएपनि गाउँलेहरूले त्यसरी प्रदर्शन गर्न मानेनन् । अन्ततः आन्दोलनकारी र गाउँलेहरूबीचको धेरै विवादपछि अन्तिम संस्कारका लागि शवलाई गाउँमा ल्याइयो ।
दीपेन्द्रकी आमा राजकुमारी सो घटनाबारेमा स्मरण गर्दै भन्छिन्, “घरबाट आधा घण्टाका लागि भनेर मोटरसाइकलमा निस्केको थियो । २०६३ साल माघ २ गते मधेशमा आन्दोलन शुरू भएको १७ औं दिन अर्थात माघ १९ गतेको त्यो दिन म कसरी बिर्सन सक्छु र ”
त्यस दिन मधेश आन्दोलन चरम उत्कर्षमा पुगेको थियो । आन्दोलनकारीहरूले शहर केन्द्रित प्रदर्शनको घोषणा गरेका थिए । पर्सा जिल्लाका गाउँ–गाउँबाट वीरगञ्जमा मानिसहरू आउँने तयारी गरिरहेका थिए । यस्तो परिस्थितिमा स्थानीय प्रशासनले वीरगञ्ज शहरमा कर्फ्यू आदेश जारी गरेको थियो । तैपनि गाउँमा भएका युवा र अगुवादेखि समान्यभन्दा सामान्य मानिस हजारौंको संख्यामा आफ्नो हकअधिकारका लागि आवाज उठाउँन वीरगञ्ज शहर पुगे ।
पुष ११ गते नेपालगञ्जमा भएको जातीय दंगापछि तीव्र गतिमा आन्दोलन सिराहा, बाँके, रौतहट र पर्सा लगायतका तराईका जिल्लाहरूमा फैलिएको थियो । माघ २३ सम्ममा दर्जनौं मानिसहरू मरेका थिए भने सयौं घाइते भएका थिए । संसदले पुष १, २०६३ मा अन्तरिम संविधान पारित गरेपछि मधेशवादी दलहरू असन्तुष्ट भएका थिए । मधेशीहरूको हक–अधिकारको उचित व्यवस्था गर्दै संविधान संशोधन गर्नु पर्ने उनीहरूको माग थियो । नयाँ नेपालमा तराईवासीका लागि न्यायोचित व्यवस्था हुनु पर्ने, संविधानसभामा जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको अधिकारसहित शासकीय प्रणाली र क्षेत्रीय स्वयत्तता प्रदान गर्नुपर्ने, संक्रमणकालीन नीति निर्माणमा मधेशी जनसंख्याको प्रतिनिधित्व हुनु पर्ने, नागरिकताको अधिकार सुनिश्चित गर्नु पर्ने, राष्ट्रिय प्रशासन, सेना र राज्य संयन्त्रमा भर्ना लिंदा मधेशीहरूलाई भेदभाव गर्न नहुने, माओवादी ज्यादतीको अन्त्य गर्नु पर्ने र कब्जा गरिएका जमीन फिर्ता हुनु पर्ने माग गर्दै “बड्की आन्दोलन” (ठूलो आन्दोलन) चर्केको थियो । आन्दोलनमा होमिएकाहरूलाई कफर्यू आदेशको के प्रर्वाह, उनीहरू सरकारलाई अन्तिम धक्का दिनका लागि ठूलो संख्यामा गाउँ गाउँबाट सदरमुकाम घेर्न पुगेका थिए । आन्दोलनमा सहभागी हुनका लागि घर–घरबाट गएका भीडहरू मध्येको एक भीडमा दीपेन्द्र पनि सहभागी थिए । आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले बल प्रयोग गरी चलाएको गोली लागेर वीरगञ्जकै पशु सेवा कार्यालय नजिक घटना स्थल मै दीपेन्द्रको मृत्यु भएको थियो । त्यस आन्दोलनको क्रममा पर्सा जिल्लाकै चौकिया बैरिया गाविसका सामान्य किसान बीरबल मुखिया विन र वीरगञ्ज उपमहानगरपालिकाका महाबीर प्रसाद साह पनि शहीद भएका थिए ।
गाउँमा दीपेन्द्रको शव आएपछि मात्र प्रहरीको गोलीबाट उनी मारिएको जानकारी उनको परिवारलाई दिइयो । छोराको मृत्यु भएको सूचना पाउँनासाथ राजकुमारी अचेत भइन् । “दुई जीउकी बुहारी सीता पनि अचेत भइन् । उनको पेटमा दीपेन्द्रको ७ महिने छोरो थियो,” राजकुमारी भन्छिन्, “हामी सासु–बुहारी र मेरी बृद्ध आमालाई छोराको मृत्युको १३ औं दिनसम्म पनि चेत आएन ।” तर, जतिसुकै पीडा आइपरेपनि बाँच्नुपर्छ भन्ने दृढताले बिस्तारै उनीहरूलाई बल दियो ।
दीपेन्द्र साह तेलीको पुख्र्यौली घर भने पर्सा जिल्लाको अठरहा, सुगौलीमा छ । सासुको आग्रहमा उनका बुबा झौवास्थित ससुरालीमै पत्नीसंगै बस्दै आएका थिए । छोरा नभएकोले छोरीज्वाईबाट आफ्नो मृत्युपछिको अन्तिम संस्कारको आशा राजकुमारीकी आमाले राखेकी थिइन् । तर, ज्वाई अर्थात् दीपेन्द्रका बुबाको पहिले नै मृत्यु भैसकेकोले नातीबाट अन्तिम संस्कार पाउने आफ्नो अभिलाषा पनि दीपेन्द्रको निधनपछि उनले गुमाइन् ।
पिताको देहान्तपछि दीपेन्द्रले कुखुराको चल्लाको कारोबारबाट जीविकोपार्जन चलाउँदै आएका थिए । उनले भारतको दिल्ली, नरकटियागञ्ज, पर्साको मनियारीबाट कुखुराका चल्ला ल्याएर सदरमुकाम वीरगञ्ज, हेटौंडा, काठमाडौंसम्म त्यसको कारोबार गर्दै आएका थिए । झौवा गाविसमा खेतीपाती र सम्पतिको नाममा दीपेन्द्रको मामाघरको ५ कठ्ठा जमीन र फुसको घरबाहेक केही छैन । दीपेन्द्र मारिएपछि यो परिवारको पालनपोषणमा ठूलो समस्या आयो । दीपेन्द्रको मृत्युको लगत्तै उनले कारोबारका लागि लिएको ऋणका बारेमा कसैले केही नभने पनि केही दिनपछि ताकेता गर्न थाले । घरमा बुढी आमा ओछ्यानमा मृत्युको बाटो कुरेर बसेकी, छोरा जवानीमै मारिएको र बुहारी सात महिनाको भारी जिउकी अवस्थामा रहेकीले त्यसबेला के गर्ने, के नगर्ने अवस्थामा आफू रहेको राजकुमारी बताउँछिन् । “त्यसबेला दीपेन्द्रको अभाव निक्कै खट्कियो,” उनी भन्छिन् ।
दिन बित्दै गए, तर समस्या झन थपिंदै थिए । त्यत्तिकैमा बुहारीको प्रसूतीको समय आयो । घरमा पैसा थिएन, बुहारीलाई भारत, रक्सौलको डंकन अस्पतालमा भर्ना गर्नुप¥यो । त्यही बेला आशाको एउटा किरण देखियो,मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव वीरगञ्ज आएका थिए । यादवलाई भेटेर सहयोग माग्न गाउँलेले सल्लाह दिए । यादव बसेको वीरगञ्जको राणीसति अतिथि सदनमा पुगेर राजकुमारी देवीले आफ्नो दुःख सुनाइन् । त्यत्तिखेरको कुरा सम्झँदैं राजकुमारी भन्छिन्, “आठ दिनसम्म धर्मशाला धाएँ । अस्पतालमा बुहारी अप्रेशन गरेर बसेकी, नाबालक नातीलाई लिएर अध्यक्षको बासस्थानमा बिहानबेलुकी चक्कर काटें । तर, नेताबाट आश्वासनसम्म पनि पाइनँ ।” बारम्बार रिक्साभाडा खर्च गर्दै नातीलाई बोकेर त्यसरी धाइरहँदा अलिकति पनि दया भावना नदेखाएकोमा राजकुमारी देवी रूष्ट छिन् । भीख माग्नेलाई पनि सहयोग गरिन्छ, तर उनी त झन शहीदकी आमा, भनेर नेताहरूबाटै विभूषित भएपनि त्यस्तो व्यवहार किन गरियो, राजकुमारीदेवीले अहिलेसम्म बुझ्न सकेकी छैनन् ।
धेरै भागदौडपछि मधेशी जनाधिकार फोरमको प्रतिनिधित्व गर्दै समानुपातिकबाट सभासद निर्वाचित इन्जिनियर आत्माराम साहले केही सहयोग पु¥याए । उनले राजकुमारी देवीको जेठो नाती ताराचन्द्र साहलाई पढाउँने व्यवस्था मिलाइदिए । उनको पढाइको खर्च भने वीरगञ्जकै व्यापारी सुनिल खेतानले व्यहोर्दै आएका छन् । खेतानले नर्सरीमा पढिरहेको ताराचन्द्रलाई डेराको व्यवस्था गरी बीरगञ्जमै राखेर अध्ययन गराइरहेका छन । खेतानले दीपेन्द्रका कान्छा छोरा राजन साहको पनि अध्ययन खर्च जुटाइदिने बचन दिएका छन् । उनले दुवै शहीद पुत्रलाई कक्षा १० सम्म अध्ययन गराउने प्रतिबद्धता जाहेर गरेका छन् ।
यस अघि तेली परिवारको बिजोग हेर्न नसकेर सोही क्षेत्रबाट नेपाली कांग्रेसबाट सभासदमा निर्वाचित अजयकुमार चौरसियाले दुई वर्षसम्म उनीहरूलाई सहयोग गरेका थिए । नूनदेखि लत्ताकपडासम्म सभासद चौरसियाले उपलब्ध गराएको कुरा सीता बताउँछिन् ।
यसैबीच दीपेन्द्रलाई राज्यले शहीद घोषणा ग¥यो । राज्यकोषबाट पाउने क्षतिपूर्ति वापत शहीद परिवारले १० लाख रूपैयाँ पनि पायो । त्यस रकमबाट दीपेन्द्रले व्यापार गर्दा र सीता सुत्केरी हुँदा लिएको ऋण तिर्न सहयोग पुग्यो । उनीहरूले केही रकम गाउँटोलमा ब्याजमा लगाए । बाँकी रकम खेतीपातीमा खर्च गरे ।
तर भविष्यको चिन्ता टरेको छैन । सीताको जीवन अझै धेरै बाँकी छ । उनका पति मारिएपछि सहानुभूति देखाउने नेताहरूले ठूला–ठूला आश्वासन बाँडेका थिए । “मलाई नोकरी दिने कुरा गर्थे । मेरो श्रीमान्को शालिक पनि बनाइदिन्छौं भन्थे । तर, उनीहरूले त्यस्तो केही गरेनन्,” सीता भन्छिन् ।
सामान्य अवस्थामा आम नागरिकले पाउने अधिकार मात्र दिए पनि आफूलाई पुग्ने कुरा सीता बताउँछिन् । राज्यले छोराहरूलाई पढाउने जिम्मा लिइदिए, उनलाई जागिर लगाइदिए आफ्नो चित्त बुझ्ने थियो भन्छिन् । एसएलसी उतीर्ण सीतादेवीले जागीर पाउँने आशामा शिक्षण अनुमतिपत्र पनि लिएकी छिन् । उनलाई गाउँमै रहेको एउटा विद्यालयको बालविकास कार्यक्रममा स्वयंसेविका बनाइएको छ । त्यहाँबाट उनले मासिक १८ सय पाउँछिन् । त्यो रकमबाट अहिलेको महंगीमा कान्छो छोराको दुध, हर्लिक्स अनि सेरेलेक्सको खर्च पनि नपुग्ने उनी बताउँछिन् । “खाली शहीद पत्नी भनेर मञ्चमा राखी दोसल्ला ओढाएर सम्मान पाउँदा–पाउँदा म थाकिसकें । दोसल्ला मात्र थुप्रियो, समस्या ज्यूँको त्यूँ नै छ,” उनी गुनासो गर्छिन् ।
सम्मानले मात्र जिन्दगी चल्दैन, साँच्चिकै उनका पतिले मधेशी हक–अधिकार स्थापनाका लागि शहादत प्राप्त गरेका हुन् भने शहीद परिवारको यो बिजोग हुनु लाज मर्दाकुरा हो भन्ने उनलाई लाग्छ । उनको प्रश्न छ— अब कसैले आफ्नो ज्यानको बाजी कसरी लगाउँन सक्छ ?
आजभोलि सीता वीरगञ्जमै आफ्नो ठूलो छोरोसंगै बस्दै आएकी छन् । उनी छोरालाई बिहान स्कुल पठाउँछिन् । त्यसपछि बालविकास कार्यक्रमको जिम्मेवारी निर्वाहका लागि २० किलोमिटर टाढा रहेको आफ्नो गाउँ जान्छिन् र बेलुकी फर्कन्छिन् । बसभाडामा मात्र दैनिक ४० रूपैयाँका दरले मासिक झण्डै १२ सय रूपैयाँ खर्च हुन्छ । स्वयंसेविकाको कामबाट हुने उनको आम्दानी त्यही १८ सय रूपैयाँ मात्र हो । मधेश आन्दोलनपछि शहीद परिवारका लागि बस भाडा छुट हुने परिचयपत्रको व्यवस्था गरिएको थियो । तर, आन्दोलन समाप्त भएको एकाध महिनापछि बसले भाडा लिन शुरू गरिहाल्यो ।
दीपेन्द्र जिवित रहँदाको अवस्था स्मरण गर्दै सीता भन्छिन्, “त्यसबेला कुखुराको चल्लाको कारोबार थियो, घरमा दुइवटा मोटरसाइकल पनि थिए ।” उनी थप्छिन्, “हामी कसैलाई थाहै नदिई उहाँ आन्दोलनमा गैरहनुहुँदो रहेछ । पछि मेरी सासुले थाहा पाएर सम्झाउनु भयो ।” बनिया (व्यापारी) मानिसले आन्दोलन–सान्दोलनमा जानु हुन्न, प्रहरीको झमेलामा पर्न सकिन्छ, व्यापारमा असर पर्न सक्छ भनेर दीपेन्द्रलाई राजकुमारीदेवीले सम्झाएकी रहिछन् । तर, उनले आमाको कुराप्रति त्यति ध्यान दिएनन् । आन्दोलनमा जाँदा उनलाई प्रहरीले दुई पटक समातेको रहेछ । केही गाउँलेहरूले ‘यो सोझो केटा हो, कारोबारमा लागेको मान्छे, आन्दोलनमा जाने कुरै छैन, भनी छुटाएका रहेछन् । “आमाको त्यो कुरा मात्र मानिदिएको भए आज हाम्रो यो अवस्था हुने थिएन,” पछुतो मान्दै सीता भन्छिन् ।
तेली परिवारको फुसको घरमा ३ वटा कोठा छन् । एउटा काम नलाग्ने अवस्थामा रहेकोले २ कोठा मात्र प्रयोगमा छन् । उनीहरूलाई पर्याप्त बस्ने ठाउँको अभाव छ । मधेश आन्दोलनपछि शिक्षामन्त्री मधेशी मूलकै मानिस भए । तर, कसैले शहीद परिवारलाई वास्ता नगरेको गुनासो सीतादेवी गर्छिन् । झन रेणु देवी शिक्षामन्त्री हुँदा त आफूलाई मनमा चोट पर्ने गरी उनले कुरा गरेर रूष्ट पारेको बताउँछिन् ।
आफ्नो छोरालाई प्रहरीले बल प्रयोग गरी मारेको कारण दोषीलाई कारवाही हुनुपर्छ भन्ने मान्यता राख्छिन् राजकुमारी देवी । तर, यसबारेमा मधेशी नेताहरूले वास्ता नगरेको र अरू कसैले चासो नदेखाएको उनको आरोप छ । “मेरो छोरालाई कसले, किन र केका लागि गोली हान्यो ? आन्दोलनताका दोषीलाई कारवाही गरिने आश्वासन दिइएको थियो । हाम्रो हरेक क्षतिको हिसाब सरकारसंग खोज्छौ भन्नेहरू आफैं सरकारमा गए । तर उनीहरूले अझ अरूलाई शहीद बनाउँनु बाहेक कुनै काम गर्न सकेनन्,” राजकुमारीदेवी भन्छिन् ।
लोकतन्त्रमा फरक विचार र हक अधिकारका लागि जो कोहीले पनि समान रूपमा आवाज उठाउँन पाउँने हुँदा दीपेन्द्रले कुनै अपराध नगरेको राजकुमारीदेवी बताउँछिन् । जस्ले जे भनेपनि आफ्नो छोराको हत्यारालाई कारवाही भएको हेर्न चाहन्छिन् । त्यस घटनामा उनका छोराले कप्र्mयू उल्लंघन गरेकोले प्रहरीले कारवाही गर्नु परेको थियो भन्नेहरू पनि छन् । “त्यतिखेर सारा मधेशले कर्फ्यू उल्लंघन गरेको थियो । प्रहरीले लाठी चार्ज, हवाई फायरिंग गरेर चेतावनी दिन सक्थ्यो,” उनी भन्छिन्, “तर त्यसो नगरी कानूनको दायराभन्दा माथि गएर गोली चलायो ।” राजकुमारीदेवी आफ्नो छोराको हत्या गर्नेलाई कारवाही हुने भए मुद्धा दिन तयार छिन् ।